एनसेल ‘लिग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Ncell 'League of Creators': Aman wins 1 million brand deal

काठमाडौँ — एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कारस्वरूप उक्त डिल हात पारेका हुन् ।

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपैयाँको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पिकका रूपमा  १ लाख रुपैयाँको ब्रान्ड डिल जितेका थिए ।

काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममा विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो । 

'एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्ण रूपमा विश्वस्त छु,' एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने । 

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोमध्येबाट उत्कृष्ट ५० जना क्रिएटरलाई पाँच जना मेन्टर सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरूलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरमार्फत विशेष प्रशिक्षण र मेन्टरसिप प्रदान गरिएको थियो । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफूलाई प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।  

प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ संजोग कोइराला टिमका थिए । त्यसैगरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए ।  उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरूमध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटर छानेका हुन् । 

कान्तिपुर

Link copied successfully