'खल्ती' र 'आईएमई पे' को एकीकृत सेवा 'खल्ती बाई आईएमई' मा सञ्चालनमा

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

Integrated service of 'Khalti' and 'IME Pay' launched at 'Khalti by IME'

What you should know

काठमाडौँ — आईएमई पे र खल्ती गाभिएर बिहीबारदेखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबारको सुरुवात गरिएको छ। झन्डै एक दशकदेखि आ-आफ्नो पहिचान बनाएका यी दुई डिजिटल वालेट सेवा प्रदायक एक आपसमा गाभिएर नयाँ एकीकृत प्रणालीमार्फत सेवा दिन थालेका हुन्।

आईएमई पे ब्याज दिने एक मात्र डिजिटल वालेटको रूपमा रेमिट्यान्स, इनड्राइभ जस्ता सेवाका लागि चिनिएको छ भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ तथा आफ्ना नवप्रवर्तनका कारण विशेषगरी युवा पुस्ता माझ लोकप्रिय रहँदै आएको छ। दुवै वालेट गाभिएपछि उत्कृष्ट फिचरहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

साबिकका आईएमई पे प्रयोगकर्ताहरूका लागि नयाँ प्रणाली ‘खल्ती बाई आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध गराइएको छ। प्रयोगकर्ताको वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टसहित सम्पूर्ण विवरण नयाँ एपमा स्थानान्तरण हुने कम्पनीले जनाएको छ।

खल्तीका प्रयोगकर्ताहरूले खल्ती एप अपडेट गरेर नयाँ एकीकृत सेवा उपयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार हाल खल्तीमा ७० लाखभन्दा बढी तथा आईएमई पेमा ५७ लाखभन्दा बढी आधिकारिक प्रयोगकर्ता रहेका छन्, जसअनुसार अब कुल १ करोड २७ लाख प्रयोगकर्ता एउटै एपमा समेटिनेछ।

कान्तिपुर संवाददाता

Link copied successfully