काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा अस्पताल भवन निर्माण गर्न १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको हो।
किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल लाइफ र किओचबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका हुन्।
बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहु-विशिष्टीकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अस्पतालको मूल भवन निर्माण जारी रहँदा पनि बालबालिकालाई सेवा प्रदान गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी अनुसन्धान अघि बढाउनका लागि 'क्लिनिकल रिसर्च बिल्डिङ' निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
नेपाल लाइफका सीईओ पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।
'बालबालिकाको स्वास्थ्य उपचाका लागि गरिएको यो सहयोगबाट कमजोर आर्थिक हैसियत भएका बालबालिकाले विशिष्ट चिकित्सकहरूको सेवा प्राप्त गर्न सक्नेछन्,' उनले भने ।
किओचका संस्थापक अध्यक्ष डा. कोइरालाले नेपाल लाइफको सहयोगले परियोजनालाई थप गति प्राप्त भएको बताउँदै भने, 'नेपाल लाइफ जस्तो गरिमामय र ठूलो ब्रान्डसँग सहकार्य गर्न पाउँदा किओचको गरिमा बढ्नुका साथै कार्य गर्ने थप हौसला मिलेको छ।'
