काठमाडौँ — विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने भएका छन् ।
एनआसीएसी बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच ‘अलीपे प्लस’ नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको हो ।
‘अलीपे प्लस’ मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ एप मार्फत एनआइसी एसिया बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टमा सोझै भुक्तानी गर्न सक्ने भएको छ ।
‘अलिपे प्लस’ नेटवर्कमा चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध छन् । बैंक र एनसीएचएलबीच भएको सम्झौताले मुलुकको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवर्द्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ ।
