मास्टर सेफ सन्तोषले काठमाडौंमा सुरु गरे ‘जनकपुर फिस हाउस’

असार १९, २०८२

कान्तिपुर संवाददाता

Master Chef Santosh started Janakpur Fish House in Kathmandu.

काठमाडौँ — मास्टर सेफ सन्तोष साहले काठमाडौँको नक्सालमा ‘जनकपुर फिस हाउस’ सुरु गरेका छन् । बीबीसी मास्टर सेफसमेत रहेका सन्तोषले मंगलबारदेखि थप व्यवसाय सुरु गरेका हुन् ।

'म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो,' फिस हाउस उद्घाटनका क्रममा उनले भने ।

नक्सालको मिथिला थाली प्राङ्गणमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद दुरुस्तै पस्कने उनले बताए । 'माछा पकाउने शैली र स्वाद दुरुस्तै ल्याउने प्रयास गरेका छौँ, यसले उहाँहरुलाई जनकपुरे माछाको तलतल मेटाउने छ,' उनले भने ।

सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन् । सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ ।

सेफ दिलीप भन्छन्, 'जसरी काठमाडौँमा किलोमा सेकुवा खाने प्रचलन छ, त्यसरी नै माछाको मात्र प्रचलन गर्ने उद्देश्यले यो रेस्टुराँ खोलिएको हो, जनकपुरमा जसरी माछा खाने परम्परा छ, त्यो स्वाद र अनुभव यहाँ ल्याउने हाम्रो प्रयास हो । पछिल्लो समय स्वास्थ संयम भएर 'व्ह्वाइट मिट' खाने परम्परालाई पनि यसले सघाउनेछ ।'

पछिल्लो समय सेफ साहले अमेरिकादेखि यूरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार आफ्ना नेपाली रैथाने स्वादका रेसिपीको पप–अप शो आयोजना गर्दै आएका छन्, जसमा साहले करिब डेढ दर्जन परिकार पस्कन्छन । उनको यो पप–अप शो अहिले विश्वका विभिन्न देशमा माग आइरहेको छ ।

स्वदेशमा भने साह मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन् । जनकपुरमा ‘मिथिला थाली’ खोलेको एक वर्षपछि गत वर्ष काठमाडौँवासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले लतिलपुरको झम्सिखेलमा ‘मिथिला थाली’ रेष्टुरेन्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट पनि विस्तार गरेका छन् ।

कान्तिपुर

Link copied successfully