केएमसीले २५ विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने

असार १६, २०८२

कान्तिपुर संवाददाता

KMC will give special scholarship to 25 students

काठमाडौँ — बागबजारस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी)ले २५ औं स्थापना दिवसको अवसरमा २५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ। विद्यालयले यस वर्षलाई रजत जयन्ती वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

केएमसीबाट कक्षा ११ र १२ उत्तीर्ण भइ काठमाडौंका विभिन्न मेडिकल कलेजहरूमा चिकित्साशास्त्र अध्ययनरत ४ सय पूर्वविद्यार्थीको उपस्थितिमा आयोजित भेटघाट तथा पुनर्मिलन कार्यक्रममा विद्यालयको गौरवशाली इतिहास र शैक्षिक योगदानलाई पुनः स्मरण गराउँदै विद्यालय व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष रामेश्वर अर्यालले छात्रवृत्तिको घोषणा गरेका हुन् ।

अध्यक्ष अर्यालले स्थापनाको २५ वर्ष पूरा भएको ऐतिहासिक अवसरमा ‘सिल्भर जुब्ली छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत २५ जना मेधावी विद्यार्थीका लागि विशेष छात्रवृत्तिको घोषणा गरेका हुन् । यस छात्रवृत्तिअन्तर्गत छनोट भएका विद्यार्थीहरूले वार्षिक शुल्क स्वरूप केवल २५ हजार रुपैयाँ मात्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ, जुन अत्यन्तै सहुलियतपूर्ण रहेको बताइएको छ।

पूर्वविद्यार्थीहरूले आफ्ना भाइबहिनीहरू विद्यालयमा भर्ना गराएमा भर्नामा विशेष प्राथमिकता दिइने जानकारी दिँदै विद्यालयलाई भावी पुस्ताका लागि योग्य शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता अध्यक्ष अर्यालले व्यक्त गरे।

विद्यालयका परीक्षा संयोजक डीडी अधिकारीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले विद्यालयले दिएको अनुशासन, मिहिनेत र परिश्रमको शिक्षाकै कारण आफूहरू सफल हुन सकेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully