२ अर्ब रुपैयाँ लगानीमा रुपन्देहीमा 'फस्ट च्वाइस फुड्स'

असार ६, २०८२

कान्तिपुर संवाददाता

'First Choice Foods' in Rupandehi with an investment of 2 billion rupees

काठमाडौँ — फस्ट च्वाइस फुड्सले २ अर्ब रुपैयाँको लगानीमा रुपन्देहीमा फ्रेन्च फ्राइ उद्योग सञ्चालनमा ल्याएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच उपप्रधान् एवं अर्थमन्त्री विष्णु पौडेलले फस्ट च्वाइस फुडको उत्पादन सार्वजनिक गरेका हुन् ।

गुल्मी घर भइ बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले सञ्चालनमा ल्याएका ‘फस्ट च्वाइस फुडको’ उत्पादन सार्वजनिक गरिएको छ । उद्योगमा ‘फ्रोजन पोट्याटो प्रोडक्टस् र फ्रेन्च फ्राइज’ उत्पादन भइरहेको छ ।

अहिले भारतमा निर्यात गरिरहे पनि आगामी दिननमा अमेरिका, दुबई, मलेसिया र साउदी अरेबियालगायत मुलुकमा निर्यात गर्ने तयारीमा रहेको व्यवसायी पौडेलले बताए । उद्योगले वार्षिक २ हजार टन आलु खरिद गरिरहेको उनले जनाए । कुल ५ बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगले आलुका परिकार मात्रै उत्पादन गर्दै आएको छ ।

सिन्धुली, काभ्रे, कैलाली, नवलपुरलगायत १९ जिल्लामा सफल परिक्षण गरी १० हजार किसानले आफ्नो उद्योगका लागि आलु उत्पादन गरिरहएको उनको भनाइ छ । उद्योगका अहिले काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ, नेपालगञ्जजस्ता मुख्य सहरमा ५ वटा डिस्ट्रिब्युटर, १२ चेन रेष्टुरेन्ट, १५० सप्लायर्स, चारसय वटाभन्दा बढी रेष्टुरेन्ट र १७१ मोर्डनमार्टमार्फत उपभोक्ता माझ उत्पादन पुर्‍याइरहेको छ । 

कान्तिपुर

Link copied successfully