भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउँदै भाटभटेनी समूह

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Bhatbhateni group bringing state-of-the-art garment industry in Bhairahawa

काठमाडौँ — भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापना गर्ने भएको हो । समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमिपूजासहित बुधबार उद्योगको शिलान्यास गरे ।  

‘नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधीकरणमा महत्त्वपूर्ण कदम चाल्नेछ । यसले नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,’ भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले भने ।

उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ, जसले मुख्यतया स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्‍याउने पौडेलले जनाए ।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने उद्योग आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिनेछ  ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले भाटभटेनीका स्टोरमार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारका लागि तयारी पोसाक उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले बताए ।  

कान्तिपुर

Link copied successfully