काठमाडौँ — टाटा समूहको एयरलाइन्स एयर इन्डिया एक्सप्रेसले काठमाडौंबाट बेंगलुरुसम्म सिधा उडान सुरु गरेको छ ।
जेठ १८ देखि एयर इन्डियाले काठमाडौँ र बेंगलुरुबीच दैनिक प्रत्यक्ष उडान सुरु गरेको हो । एयर इन्डियाको बढ्दो सञ्जालमा काठमाडौं १७ औं अन्तर्राष्ट्रिय गन्तव्य र एयर इन्डिया एक्सप्रेसको लागि नेपालमा पहिलो स्टेशन बनेको कम्पनीको भनाइ छ । स्थानीय समयअनुसार बेंगलुरुबाट काठमाडौं प्रस्थान ५ बजेर ५ मिनेटमा हुनेछ र आगमन समय ८ बजेर ५ मिनेटमा हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ । यसैगरी काठमाडौंबाट बेंगलुरु प्रस्थान ९ बजेर ५ मिनेटमा हुनेछ भने अवतरण १२ बजेर २५ मिनेटमा हुनेछ ।
नयाँ सेवाले नेपालको राजधानीलाई बेंगलुरुसम्म जोड्छ। प्रायः भारतको सिलिकन उपत्यका भनेर चिनिने बेंगलुरु भारतका अग्रणी विश्वविद्यालय, अस्पताल, बहुर्राष्ट्रिय कम्पनी र अनुसन्धान केन्द्रहरूको घर हो । काठमाडौंमा सेवा सुरु भएको अवसरमा एयर इन्डिया एक्सप्रेसका प्रबन्ध निर्देशक आलोक सिंहल छिमेकी देश नेपालमा उपस्थिति विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे ।
'छिमेकी मुलुकसँग हवाई उडान सुरु गरी हाम्रो गहिरो सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउँन पाउँदा खुसी छौं,' उनले भने, 'यो नयाँ मार्गले मानिस र परम्पराहरूलाई नजिक ल्याउँनेछ । यात्रालाई अझ सुलभ र अर्थपूर्ण बनाउने हाम्रो दृष्टिकोणलाई सुदृढ बनाउँनेछ ।'
उक्त उडान काठमाडौंबाट बेंगलुरु हुँदै चेन्नई, हैदराबाद, कोच्चि, तिरुवनन्तपुरम, गोवा र तिरुचिरापल्ली जस्ता अन्य भारतीय सहरका साथै मध्यपूर्वका अबुधाबी र दम्ममसम्म एक-स्टप पहुँच प्रदान गर्ने कम्पनीको भनाई छ ।
