काठमाडौँ — नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ ।
नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबबाट पाँच सय र नगरपालिकाका शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हस्ताक्षर गरे । यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाका तर्फबाट जम्मा भएको रकमका आधारमा एकमुष्ट वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।
