काठमाडौँ — जलवायु परिवर्तन र अनौपचारिक क्षेत्रका श्रमिकका हकहितको सवालमा केन्द्रित रहेर काठमाडौँमा ‘अभियान सम्मेलन २०२५’ आयोजना हुने भएको छ । एक्सनएड इन्टरनेसनल नेपाल, नेपाल महिला एकता समाज र युथ एड्भोकेसी नेपाल र सञ्चारिका समूहको सहकार्यमा आयोजना हुने सम्मेलन आगामी ५ र ६ मेमा प्रज्ञा प्रतिष्ठानमा हुने तय भएको छ ।
आयोजकहरूले दिएको जानकारीअनुसार सम्मेलनले जलवायु संकटको प्रत्यक्ष असर भोगिरहेका समुदाय र असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको आवाज उठाउने, उनीहरूको जीवनस्तर सुधारका लागि नीति निर्माण तहसम्म सशक्त संवाद गर्ने उद्देश्य राखेको छ । सम्मेलनमा युवा अभियन्ता, कृषक, श्रमिक, सरकारी निकाय, नागरिक समाज र नीतिनिर्माताहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा न्यूनतम तथा न्यायोचित ज्यालाको सुनिश्चितता, सुरक्षित र हिंसामुक्त कार्यस्थल, व्यावसायिक स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र लैङ्गिक समावेशी सार्वजनिक सेवा प्रणालीका मागहरू उठाइने जनाइएको छ। कार्यक्रमको प्रारम्भ ५ मे बिहान ८ बजे शान्ति बगैंचाबाट र्यालीमार्फत हुनेछ । र्यालीमा सहभागीहरूले रत्नपार्कसम्म मार्च गर्दै जलवायु न्याय र श्रमिक अधिकारका पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्नेछन् । त्यसपछि प्रज्ञा प्रतिष्ठानमा हुने समारोहमा सरोकारवाला निकायका प्रतिनिधिहरूले मन्तव्य राख्नेछन् ।
दुई दिने सम्मेलनमा समानान्तर सत्र सञ्चालन हुने र तिनमा जलवायु वित्त, श्रमिक अधिकार, साझा स्रोतको संरक्षण, व्यावसायिक सुरक्षा लगायत विषयमा छलफल गरिने विज्ञप्तिमा उल्लेख छ । दोस्रो दिन मन्त्रालयस्तरीय नीतिगत संवाद सत्र सञ्चालन हुने र त्यसमा वन तथा वातावरण मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिसँग अन्तरक्रिया गरिने तालिका छ । सम्मेलनको अन्त्यमा संयुक्त मागपत्र तयार गरी सम्बन्धित मन्त्रालयहरूमा बुझाइनेछ ।
पत्रकार सम्मेलनमा युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन्द्र खतिवडा, एक्सनएड इन्टरनेसनल नेपालका क्याम्पेन म्यानेजर राहुल देवान, महिला एकता समाजकी कार्यकारी निर्देशक भगवती अधिकारी र सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थी लगायत वक्ताहरूले सार्वजनिक संलग्नता, जनआन्दोलन र सञ्चारको भूमिकामाथि प्रकाश पारेका थिए ।
