विराटनगर — मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बाइपास रोडमा मेडिकल उद्योगी दिनेश ठाकुर र रञ्जित भगतले एक अर्बको संयुक्त लगानीमा अन्तर्राष्ट्रियस्तरको प्यारेन्टल (स्लाइन पानी) उद्योग स्थापना गरेका छन् । एलेक्सा लाइफसाइन्स नामक उद्योगले नेपालमा उच्चस्तरीय औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ ।
उद्योगका लगानीकर्ताद्वय दिनेश ठाकुर र रञ्जित भगतले पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगबारे जानकारी दिएका हुन् । यो उद्योग एभरेष्ट बैंकसँगको वित्तीय सहकार्यमा स्थापना गरिएको हो, जसले ६० करोड रुपैयाँको लगानी प्रतिबद्धता जनाएको छ ।
एलेक्सा लाइफसाइन्सले जर्मन प्रविधिको मेसिनहरूको प्रयोग गरेर उच्च गुणस्तरीय स्लाइन उत्पादन गर्ने दाबी गरेको छ । उद्योगको निर्माणमा गरिएको लगानी र प्रविधिको स्तरले नेपालको औषधि उद्योगलाई नयाँ मापदण्डमा ल्याउने विश्वास गरिएको छ ।
एलेक्सा लाइफसाइन्सको संस्थापक दिनेश ठाकुरका अनुसार, यस उद्योगको मुख्य उद्देश्य स्वदेशी औषधि उत्पादनलाई बढावा दिने र औषधि आयातमा कमी ल्याउने हो । उद्योगले विराटनगरमा १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने योजना बनाएको छ । एलेक्सा लाइफसाइन्सले पहिलो चरणमा एलभीपी १०० एमएलदेखि तीन हजार एमएलसम्मका स्लाइन औषधिहरू उत्पादन गर्ने योजना बनाएको छ भने दोस्रो चरणमा एसभीपी औषधि उत्पादन गरिनेछ, जसअन्तर्गत १ एमएलदेखि २० एमएलसम्मका औषधिहरू उत्पादन गरिनेछन् । तेस्रो चरणमा आँखाको औषधि र कानको औषधि उत्पादन गरिने लक्ष्य राखिएको छ ।
