काठमाडौँ — तुर्कमेनिस्तानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा जनकपुरधामका वर्ष १९ का आशिष मिश्राले कास्य पदक हात पार्न सफल भएका छन् ।
यो सफलता प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । यसमा नेपाली विद्यार्थीले सहभागिता जनाएको यो प्रथम पटक हो । यससँगै उनी ९ जुलाईदेखि २१, २०२५ सम्म अष्ट्रेलियामा आयोजना हुन लागिएको ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा भाग लिन जाने छन् ।
यसमा पनि सहभागी हुने ६ जना नेपाली सहभागीको नाम चयन भइसकेको तथा त्यहाँ जाने प्रक्रिया थालिएको म्याथमटिक्स एसोशिएशन अफ नेपालले जनाएको छ ।
म्याथमटिक्स एसोशिएशन अफ नेपालका केन्द्रीय सह कोषााध्यक्ष डा. सरस्वती आचार्यको नेतृत्वमा यही बैशाख ६ गते तुर्कमेनिस्तान गएको नेपाली टोली १४ गते आईतवार नेपाल फर्किन लागेको हो ।
३० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट ६ जना विद्यार्थीले भाग लिएका थिए । नेपालका तर्फबाट दार्चुलाका आयुष ढुंगाना, गुल्मीका आयुष मरासिनी, धनुषाका आशिष मिश्रा, भक्तपुरका सुहित ढुंगाना, काठमाडौंका प्रकाश आचार्य र शुभम श्रेष्ठले भाग लिएका थिए ।
अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा करिब तीन सय भन्दा बढी विद्यार्थीहरूबीच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा भएको थियो ।
नेपाली विद्यार्थीको सह नेतृत्व शिक्षक धर्मेन्द्रकुमार यादवले गरे्का थिए । काठमाडौं तीनकुनेस्थित दिव्य कलेजको सभाहलमा प्रतिस्पर्धामा सहभागी विद्यार्थीलाई एक कार्यक्रमकाबीच बिदाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल गणित संघका महासचिव तथा दिव्य कलेजका निर्देशक छवि ढुंगाना, संस्थाका उपाध्यक्ष हरिप्रपन्न कँडेल, दिव्य कलेजका सूचना तथा सञ्चार प्रमुख दुर्गाप्रसाद चौलागाईं तथा अभिभावकले बिदाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला र प्रदेश हुँदै संघमा कडा प्रतिस्पर्धापछि अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागीहरूको छनोट गरिएको थियो । एशोसिएशनका महासचिव छवि ढुंगानाकाअनुसार जनकपुरका आशिष मिश्र अब्बल एवं अनुशासित विद्यार्थी हुन् । उनको सफलता समग्र नेपालले नै गर्व गर्नलायकको विषय भएकाले आफूहरु उत्साहित भएको बताए ।
