भैरहवामा बुद्ध रिजेन्सी होटल

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Buddha Regency Hotel in Bhairahawa

भैरहवा — रूपन्देहीको भैरहवामा स्वदेशी र बाह्य पर्यटकलाई लक्ष्य गरेर बुद्ध रिजेन्सी होटल सञ्चालनमा आएको छ । नयाँ वर्षबाट सेवा सुरु गरेको होटलमा दुई अर्ब हाराहारी लगानी भएको सञ्चालकले जनाएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सामुन्ने ठूलो लगानीमा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालनमा आएको हो ।

सिद्धार्थनगर नगरपालिका–४ मा एक बिघा क्षेत्रफलमा तारे होटल बनाइएको होटलका जनरल म्यानेजर वसन्तराज पुरीले बताए । व्यवसायी नरेन्द्रप्रसाद गुप्ता, सुनील अग्रवाल र पवन सरावगीले होटलमा लगानी गरेका हुन् । ‘भैरहवा–लुम्बिनी सडकसँगै रहेकाले होटलमा सबैको आँखा पर्ने रहेछ,’ पुरीले भने, ‘सञ्चालनको पहिलो महिनामै होटलको बुकिङ उत्साहप्रद छ ।’

होटलमा एक सय ५ कोठा छन् । यीमध्ये एउटा प्रेसिडेन्सियल सुइट, तीन सुइट र पाँच परिवार लक्षित इन्टरकनेक्टेड कोठा छन् । बाँकी ९६ कोठा डिलक्स सुविधायुक्त रहेको पुरीको भनाइ छ । ‘होटलको छतमा स्विमिङ पुल छ,’ उनले भने, ‘साथै छतमा ८० जना अट्ने सभा हल र ७० जना अट्ने क्षमताको लाउन्ज पनि तयार छ ।’ बार्दलीमा ५० जना अट्ने रेस्टुराँ रहेको पुरीले जनाए । होटलको भुइँतलामा आकर्षक लबीसँगै तीन सय जनाभन्दा बढी अट्ने क्षमताको ब्यांक्वेट हल छ । 

कान्तिपुर

Link copied successfully