काठमाडौँ — रामादा एन्कोर र इम्प्याक्ट एसबीच हस्पिटालिटी क्षेत्रको नेतृत्व विकासका लागि आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार रामादा एन्कोरका प्रबन्ध निर्देशक महेश फुँयालले इम्प्याक्ट एसका सहसंस्थापक जर्मन नागरिक किम बाडेन र कोविद पन्थीले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्पिटालिटी क्षेत्रका नेतृत्वकर्तालाई इम्प्याक्ट एसले तालिम प्रदान गर्दै आएको छ । ‘हामीले होटलहरुको अध्ययन गरेर त्यसको आवश्यकताअनुसार तालिम र गोष्ठी गर्दै आएका छौं,’ इम्प्याक्ट एसका सहसंस्थापक कोविद पन्थीले भने,‘ नेतृत्वको क्षमता विकाससँगै हामीले के सुधार भएमा आतिथ्यता बढ्छ र बढाउन सक्छौं भनेर काम गर्छौं ।’
अमेरिकामा प्रधान कार्यालय रहेको इम्प्याक्ट एसको श्रीलंका र दुबईमा पनि कार्यालय छ । पन्थीले यसअघि नेपालका मारियट होटल, याक एन्ड यति होटल, क्राउन प्लाजा काठमाडौं (सोल्टी) लगायतका होटलमा समेत सम्झौता गरेर इम्प्याक्ट एसले कम गरेको छ । इम्प्याक्ट एसले नेपाली हस्पिटालिटी उद्योगमा दीर्घकालीन परिवर्तन ल्याउने उद्देश्यसहित काम गरेको उनले बताए ।
विन्डहम समूहले ठमेलमा सञ्चालन गरेको रामादा होटलका महाप्रबन्धक महेश फुँयालले नेतृत्व विकासमा गरिएको यो लगानीले सेवा र अनुभव थप प्रभावकारी बनाउने अपेक्षा राखेका छन् ।
