काठमाडौँ — एनसीएचएल र मास्टरकार्डले नेपालमा सीमापार भुक्तानीका लागि रणनीतिक सहकार्य गरेका छन्।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक,नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र भुक्तानी उद्योगमा सञ्चालन गर्ने विश्वव्यापी प्रविधि कम्पनी,मास्टरकार्डले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकका लागि मास्टरकार्ड प्रयोग गरेर द्रुत भुक्तानीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
दुवै पक्षले अन्तर्राष्ट्रिय मास्टरकार्डलाई एनसीएचएलको नेपालपे क्यूआर र नेपालमा रहेको इन्टरअपरेबल क्यूआर मर्चेन्टहरूमा ‘स्थानीय जस्तै भुक्तानी’ गर्न सहज र सुविधाजनक भुक्तानी गर्ने उद्देश्यले उक्त समझदारी गरिएको जानकारी दिएका छन्।
विदेशी पर्यटकलाई स्थानीय क्यूआर व्यापारीहरूमा आफ्नो मास्टरकार्ड प्रयोग गरेर डिजिटल भुक्तानी गर्न थप प्लेटफर्म प्रदान गरेर यो सहकार्यले देशभरका उपभोक्ताहरू र व्यापारीहरूले डिजिटल भुक्तानी अपनाउने क्षमता बढाउने उनीहरुको विश्वास छ।
एनसीएचएल र मास्टरकार्डबीचको यो संलग्नताले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रमुख रूपमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
