नेपालगन्ज — खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले होटल सिद्धार्थलाई ‘स्वच्छता स्तरीकरण’मा प्राप्तांकका आधारमा ‘अति उत्तम’को लोगो र स्टिकर प्रदान गरेको छ ।कार्यालयले खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका कार्यालय प्रमुख प्रशान्त पोखरेल बुधबार होटलमै पुगेर स्टिकर टाँस्नुका साथै स्तरीकरण प्रमाणपत्र प्रदान गरेका हुन् । मूल्यांकनमा होटललाई अति उत्तम (तीन तारा) स्टिकर प्रदान गरिएको थियो ।
‘विभागले जारी गरेको खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्ने निर्देशिका–२०७४ मा उल्लेखित सूचकका आधारमा होटलहरूको अनुगमन गरिएको थियो ।
प्राप्तांकका आधारमा अति उत्तम, उत्तम, सन्तोषजनक श्रेणीका लोगोसहितको हरियो र सामान्यस्तरका लागि पहेँलो स्टिकर प्रदान गरिने प्रावधान छ ।
पहिलोपटक स्तरीकरण भएको हुँदा निर्देशिकामा रहेको ५० वटै सूचकका बारेमा सबैले राम्ररी थाहा नपाएको पाइयो,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘अब हामीले प्रदान गरेको स्तरीकरण लोगो र प्रमाणपत्र हेरेर पनि उपभोक्ताले ढुक्क भएर खानेकुरा खान सक्नुहुने अवस्था बनाएका छौं ।’
हालको स्तरीकरणमा औंल्याइएका कमी–कमजोरीलाई सुधार गरेका होटलहरूले पुनः मूल्यांकनका लागि आवेदन दिन सक्ने उनले जानकारी दिए ।
कार्यालयले पहिलो चरणमा मूल्यांकनमा समावेश गरेका तीनवटा होटललाई समावेश गरेको जनाएको छ ।
निर्देशिकाले सबै सूचक पूरा गर्न सके कि सकेनन् भनेर आफैंले पनि ‘सेल्फ अडिट’ गर्न सक्ने व्यवस्था गरेको छ ।
सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले सिद्धार्थले स्वास्थ्य, सुरक्षा र सन्तुष्टि हाम्रो उच्च प्राथमिकता रहेको बताउँदै यस पहिचानलाई कायम राख्न सबै मापदण्ड कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
