काठमाडौँ — अमेरिकी प्रविधि कम्पनी 'समएक्स इंक'ले सरकारी ठेक्का प्रक्रिया, निर्माण, इन्जिनियरिङ, परामर्श, आर्किटेक्चर लगायत क्षेत्रका व्यवसायीलाई उपयोगी हुने आधुनिक इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली सार्वजनिक गरेको छ । अमेरिका बस्ने नेपाली उद्यमी राजु कार्कीको यस कम्पनीले एआईमा आधारित ईआरपी निर्माण गरेको हो ।
परम्परागत ईआरपी प्रणालीभन्दा ‘समएक्स’ ईआरपी किफायती र सरल भएको कम्पनीको दाबी छ । समएक्सका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक कार्कीका अनुसार यो प्रणाली विशेषगरी साना तथा मझौला व्यवसायहरूका लागि बनाइएको हो । यसले परम्परागत ईआरपी प्रणालीहरू प्रयोग गर्दा लाग्ने उच्च लागत र जटिलता हटाउने लक्ष्य राखेको छ ।
‘साना तथा मझौला व्यवसायीहरूलाई महँगा, जटिल, पुराना प्रणालीहरू प्रयोग गर्न निकै संघर्ष गर्नुपर्छ,’ कार्की भन्छन्, ‘हामीले सहजै कार्यान्वयन गर्न मिल्ने सोलुसन ल्याएका छौं । यसले ब्याक-अफिस बजेट ५० प्रतिशसम्म घटाइदिन सक्छ ।’
एआई प्रविधिमा आधारित ईआरपी प्रणालीले परियोजना नाफा/नोक्सान विश्लेषण, अप्रत्यक्ष खर्चको व्यवस्थापन तथा जटिल कानुनी मापदण्ड पालना गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ । प्रणालीका प्रमुख विशेषताहरूमा परियोजना तथा खाता आधारित व्यवस्थापनका लागि उप-परियोजनासहित समय, लागत र स्रोत व्यवस्थापन सहज बनाउनेदेखि बाह्य विक्रेताका मोड्युलहरूसँग इन्टरअपरेबल हुने भएकाले व्यवसाय सञ्चालनलाई समग्र रूपमा समन्वय गर्न सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ ।
