शुक्रबारदेखि चितवनमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

'Made in Nepal Expo and Food Festival' in Chitwan from Friday

काठमाडौँ — नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवनको नारायणगढमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा यही शुक्रबारदेखि बैशाख २ गतेसम्म नारायणघाटस्थित क्याम्पस चौरमा फेस्टिभल आयोजना हुन लागेको हो ।

कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गर्ने बताइएको छ । एक्स्पो हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म चल्ने छ भने अपरान्ह ५ बजेदेखि राति ९ बजेसम्म ग्राण्ड फुड फेस्टिभल सञ्चालन हुने मञ्चका चितवन अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । 

एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ भने फुड फेस्टिभलमा शुल्क तोकिएको छ । फुड फेस्टिभलमा हरेक दिन चर्चित ब्याण्डहरुले प्रस्तुति दिनेछन् । आयोजकका अनुसार टिकटका लागि खल्तीबाट अग्रिम अनलाइन बुकिङ गर्दा ३ सय रुपैयाँ र कार्यक्रम स्थलमा गएर टिकट काट्दा ५ सय रुपैयाँ तोकिएको छ । 

पहिलो दिन चैत २९ गते ‘दि एज ब्याण्ड’, ३० गते ‘रकहेड’, चैत ३१ गते ‘पूर्ण राइ एण्ड परिवर्तन’, वैशाख १ गते ‘द स्वार’ र वैशाख २ गते ‘उदय एण्ड झकास’को विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फुड फेस्टिभलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधताको पाइने आयोजकले जनाएको छ । जसमा अर्गानिक उत्पादन, लाभइ कुकिङ डेमो, फुड आर्ट डिस्प्ले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछ ।

यस्तै एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेन छन् । जहाँ जुत्ता, कपडा, चिया, क्राफ्ट, साबु, मसला, मह, अचारलगायतका नेपाली उत्पादनका ब्राण्डहरु रहने छन् । विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुबाट स्टार्टअप आइडिया पिचिङ, कविता वाचन, प्रेरणादायी भाषणा र नवप्रवर्तन परक प्रस्तुतीहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम अवधिमा तीन दिन तीन फरक विषयमा युवामुखी प्यानल छलफलहरु चलाइने मञ्चका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।

युवा उद्यमी मञ्चले सन् २०१७ देखि चितवन महोत्सव भित्र एउटा अंशको रुपमा मेड इन नेपाल एक्स्पो आयोजना गर्दै यसको सुरुवात गरेको थियो । तीन वटा संस्करणपछि अहिले छुट्टै वृहत एक्स्पोको रुपमा यो कार्यक्रमको आयोजना गरिएको पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले बताए । उनले विगतमा गरेको माया जस्तै यसवर्ष पनि माया गर्न सबैमा आह्वान गरे ।

यसपटक एक्स्पोमा ‘मेड इन भरतपुर’ नामक विशेष क्षेत्रमार्फत भरतपुरका स्थानीय उत्पादनहरुको प्रवद्र्धन समेत गरिने आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully