काठमाडौँ — नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकअन्तर्गत सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले विश्व जलचर जनावर दिवसका अवसरमा ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को औपचारिक घोषणा गरेको छ ।
पाटन संग्रहालयमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको उक्त परियोजना नेपालको अति खतरामा परेको गंगा नदी डल्फिनको संरक्षणमा केन्द्रित छ । डल्फिनको संख्यालाई ध्यानमा राख्दै यस परियोजनाले स्वच्छ पानीको जैविक विविधता र स्थानीय समुदायलाई एकैसाथ संरक्षण गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
यो डल्फिनको संख्या संसारभर ३ हजार ५ सयभन्दा कम संख्यामा मात्र रहेको र सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको तथ्यांक छ ।
