ललितपुर — दक्षिण एशियाली एओटिए महासंघ (साफास)को १४ औं अधिवेशन ललितपुरमा आयोजना गरिएको छ ।
पुल्चोकस्थित स्क्वायर होटेलमा 'दिगो विकासका लागि सहकार्यत्मक वृद्धि : हाम्रो साझा भविष्य' भन्ने नाराका साथ ४-५ अप्रिलमा साफासको अधिवेशन भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिं भण्डारीले उद्घाटन गरेको अधिवेशनमा जापानी राजदूत मायदा तोरू, नेपाल एओटिएस अल्मुनाइ सोसाइटी, बङ्गलादेश एओटिएस तथा चट्टग्राम एओटिएसका सल्लाहकार डा. एकेएम मोज्जेम हुस्सेन, दक्षिण एसियाका विभिन्न एओटिएस अल्मुनाइ सोसाइटीका वरिष्ठ प्रतिनिधिहरू, नेपाल चेम्बर अफ कमर्स, क्षेत्रीय व्यापार संघ संस्था, विभिन्न जापानी एवं सहयोगी संस्थाहरू सहभागी थिए ।
त्यस्तै बंगलादेश, भारत, जापान, नेपाल र श्रीलंकाका अल्मुनाइ सोसाइटीका ५० भन्दा बढी प्रतिनिधिलगायतको सहभागिता थियो ।
अधिवेशनमा विभिन्न व्यक्तिहरुको प्रस्तुतिकरण, साफास साधारणसभा सदस्यहरू र एओटिएस जापानबीच दिगो साझेदारी कायम गर्न तयार पारिएका तीन उपविषयहरूमाथि समूहगत छलफल भएको छ ।
जापानस्थित एसोसियसन फर ओभरसिस टेक्निकल स्कलरसिप पूर्वप्रशिक्षार्थीहरूद्वारा सन् १९९१ मा स्थापना गरिएको नेपाल एओटिएस अल्मुनाइ सोसाइटी एक स्वैच्छिक गैर-सरकारी संस्था हो । यस संस्थालाई अब 'एसोसियसन फग ओभरसिज टेक्निकल सिपरेसन् आण्ड सस्टेनेबल पार्टनरसिप ह्युमन रिसोर्सेस आण्ड इन्डस्ट्रि डेभलपमेन्ट एसोसियसन' भनेर नामकरण गरिएको छ । कोटेश्वरमा नेपाल एओटिएसको आफ्नै सुविधायुक्त यामामोतो तालिम घर नामक सचिवालय छ । यसले १२ सयजना भन्दा बढी नेपालीलाई एओटिएस जापानमा, ५ हजारभन्दा बढीलाई वर्ल्ड नेटवर्क फ्रेण्डसिप ओभरसिज ट्रेगिङ्ग प्रोग्राम तथा डोमेस्टिक लेक्चरिङ्ग टुर आदिमार्फत नेपालमा नै प्रशिक्षण दिइसकेको संस्थाले जनाएको छ ।
नेपाल एओटिएस जस्तै विश्वका अन्य ४६ देशका ७५ वटा अल्मुनाइ सोसाइटीहरू पनि एओटिएस जापानसँग आबद्ध छन् । नेपाल एओटिएस दक्षिण एसियाली महासंघको सदस्य हो । यसमा १६ वटा अल्मुनाइ सोसाइटीहरू आबद्ध छन् ।
