ग्लोबल कोडिङ प्रतिस्पर्धाको पाइथन कोडिङ विधामा नेपाली विद्यार्थी पहिलो

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Nepali student first in Python coding category of global coding competition

काठमाडौँ — अन्तर्राष्ट्रिय कोडिङ प्रतियोगितामा नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । पाइथन कोडिङ विधामा हाई न्यू भिजन एकेडेमीका कक्षा ८ का विद्यार्थी कृष्ण रिजालले ग्लोबल पहिलो स्थान हासिल गरेका छन् ।

जुनियर ब्लक-आधारित कोडिङमा एक्सेल्सियर स्कुलका कक्षा ४ का विद्यार्थी विनायक पंगेनीले ग्लोबल दोस्रो स्थान हासिल गर्नुका साथै सिनियर ब्लक-आधारित कोडिङमा मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ५ का विद्यार्थी श्रेयश खड्गीले ग्लोबल दोस्रो स्थान प्राप्त गरे । 

दूरशिक्षा एजुकेसन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एजुटेक इन्डियाको सहकार्यमा भएको प्रतियोगितामा नेपालबाट ९ जना विद्यार्थी छनोट भएका थिए । नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका सहभागीबीच भएको प्रतिस्पर्धामा नेपालका विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरूले जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक-आधारित कोडिङ तथा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथन कोडिङ विधामा विभिन्न थिममा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully