उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा सापकोटा

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Sapkota as the president of Federation of Industries and Businessmen

काठमाडौँ — नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् । महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

काठमाडौंमा दुई दिनसम्म चलेको उक्त महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ र महिलातर्फ शोभा गुरुङ सर्वसम्मत रूपमा चयन भएकी छन् । महासंघको महासचिवमा बालकृष्ण शिवाकोटी चयन हुादा उपमहासचिवमा डिमप्रसाद पौडेल चुनिएका छन् ।

यस्तै सचिवद्वयमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन भएका छन् । महासंघको तीन आयोगमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टंक राउत र अनुशासनतर्फ बालाराम भट्टराई चयन भएका छन् । महाधिवेशनले क्षेत्रगत रूपमा सदस्य केन्द्रीय कमिटी पनि चयन गरेको छ ।  नवनिर्वाचित अध्यक्ष भागीरथ सापकोटाले महासंघमा नेतृत्व सम्हालेसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसायीको हकहितमा काम गर्ने बताए ।

‘नेपाल उद्योग तथा व्यवसायी महासंघलाई साना, घरेलुदेखि मझौला तथा ठूलो उद्योगी व्यवसायीको प्रतिनिधित्व हुने गरी छाता संगठनका रूपमा अझ सशक्त ढंगले अघि बढाउने छौं,’ उनले भने, ‘अहिले धेरै उद्योगी व्यवसायीहरू समस्यामा परेका छन् । उनीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कान्तिपुर संवाददाता

Link copied successfully