पुष्प मेलाका दुई दिनमा ५८ लाखको कारोबार

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

58 lakh turnover in two days of the flower fair

काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६औं फ्लोरा एक्स्पो दोस्रो दिनसम्म ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

एक्स्पोमा ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिइएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ जारी मेला आगामी सोमबारसम्म चल्नेछ ।

मेलामा व्यावसायिक ६७, ल्यान्डस्केपिङ एक, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी दुई र फुडस्टल ३ वटासहित जम्मा ८३ वटा स्टल रहेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङ (सुनिल) ले बताए । 

अवलोकनकर्ताको भीड बढिरहेकाले एक करोडभन्दा बढी कारोबार हुने विश्वास लिएको एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले जनाए । मेला अवलोकन गर्न सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

ज्येष्ठ नागरिकहरूलाई भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको एसोसिएसनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully