काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिंजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सोमबार आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापछि कुनै कृषि व्यवसायमा आबद्ध १८ देखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक र कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म तथा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
कृषि कर्जा निर्देशिका, २०६९ (संशोधनसहित) अनुसार लगानी गरिने उक्त कर्जा आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने बैंकले जनाएको छ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्षका लागि प्रदान गरिने र बढीमा १० लाख रुपैयाँसम्म कर्जा लगानी गरिने बैंकले बताएको छ ।
