पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान 

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Honor of Yeti Distillery to Paubha artist Shrestha

काठमाडौँ — यती डिस्टिलरी प्रालिले अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त पौभा कलाकार समुन्द्रमान सिं श्रेष्ठलाई सम्मान गरेको छ । 

नेपाली परम्परागत कलाको संरक्षण र विश्वस्तरमा यसको प्रवर्द्धनमा श्रेष्ठले पुर्‍याएको योगदानका लागि यती डिस्टिलरीले सम्मान गरेको हो । सन् १९८० मा काठमाडौंको रक्तकालीमा जन्मिएका श्रेष्ठले १४ वर्षको उमेरमै औपचारिक कला प्रशिक्षण प्रारम्भ गरेका थिए । उनी परम्परागत नेवारी पौभा चित्रकला विधिलाई समकालीन शैलीमा मिसाएर देवीदेवता र सांस्कृतिक कथाको दृश्यात्मक चित्रण गर्नमा अब्बल मानिन्छन् ।

श्रेष्ठको कलाकृति ‘द मिथिकल क्रेचर्स’ नेपालको समृद्ध कला एवं सांस्कृतिक विरासतप्रतिको सम्मान भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

‘यो कलाकृतिले सजीव र निर्जीव दुवै जगत्‌का प्रतीकात्मक तथा अलौकिक जीवजन्तुलाई चित्रण गर्दै नेपालको सम्पन्नशाली कलात्मक धरोहरको गुणगान गर्दछ,’ श्रेष्ठ भन्छन्, ‘यो कलाकृतिले मयूर, श्वेतशार्दूल, नीलशार्दूलजस्ता श्रद्धेय अनुप्रतीकहरूप्रति सम्मान प्रकट गर्नुका साथै पृथ्वी, जल, अग्नि, वायु (बादलद्वारा प्रतिनिधित्व गराइएको) र आकाश (गाढा पृष्ठभूमिमा चित्रित) जस्ता पञ्चतत्त्वलाई पनि एकीकृत रूपमा समेटेको छ ।’

सम्मान कार्यक्रममा मन्तव्य राख्दै यती डिस्टिलरीका प्रबन्ध निर्देशक अभिषेक श्रेष्ठले नेपाली कलाकारहरूलाई समर्थन र सांस्कृतिक धरोहरको संरक्षण गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्‍याए । उनले भने, ‘आज समुन्द्रजीलाई सम्मान गरिरहँदा हामीले उहाँको असाधारण प्रतिभाको सराहना मात्रै गरिरहेका छैनौं, नेपालको सांस्कृतिक पहिचानलाई विश्वस्तरमै प्रदर्शित गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्‍याएका छौं । उहाँको कला, समुदाय र सर्वसाधारण दुवैबाट उच्च तहको श्रद्धा प्रकट गरिएको हाम्रो राष्ट्रको कलात्मक विरासतको प्रमाण हो ।'

सम्मान समारोहमा प्रतिष्ठित व्यक्तित्वहरू, अगुवा व्यवसायी तथा कला क्षेत्रका सदस्यहरूको उपस्थित रहेको थियो । 

कान्तिपुर

Link copied successfully