काठमाडौँ — नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको एघारौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तारलगायत विषयमा छलफल गर्यो । नेपाल र इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत कार्यक्रममा गरियो ।
सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याएकाहरूलाई सम्मानसमेत गरियो । सम्मानित हुनेमा राजेशकाजी श्रेष्ठ, वाणिज्यदूत प्रतिमा पाण्डे र अशंकशमशेर जबरा छन् । नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीले गर्दै आएको सहयोगप्रति संघका महासचिव मनोज श्रेष्ठ भाडेलले आभार व्यक्त गरे ।
‘नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्त्वपूर्ण छ । यहाँका सम्पदा संरक्षणमा हामीले इटालीबाट सिकेर काम गर्न सक्छौं । हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौं ।’ नेपालको आर्थिक विकासमा इटालीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको संघका अध्यक्ष सञ्जय अग्रवालले जनाए । ‘नेपालमा २०७२ सालमा गएको भूकम्पपछि इटाली सरकारले पुर्याएको सहयोग ऐतिहासिक छ,’ उनले भने, ‘हामी नेपाल–इटालीबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रित छौं ।’
