काठमाडौँ — काठमाडौं महानगरपालिका, सेन्टर फर इन्टिग्रेटेडअर्बन डेभलपमेन्ट (सीआईयूडी) र बोटलर्स नेपाल लिमिटेडको सहकार्यमा काठमाडौंका दुई सामुदायिक विद्यालयमा ‘बालबालिका र वातावरण (बाबा)’ परियोजना सम्पन्न भएको छ ।
मंगलबार एक समारोहबीच महानगरकी उपमेयर सुनिता डंगोलको उपस्थितिमा उक्त परियोजना सम्पन्न भयो । परियोजनाको समापनका अवसरमा दुवै विद्यालयमा मटेरियल रिकभरी सुविधा (एमआरएफ) हस्तान्तरण गरिएको थियो ।
सन् २०२४ को जुनमा सुरु गरिएको यस परियोजनाको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकबाहिरका ज्ञान प्रदान गर्नु र वातावरणीय विषयहरूमा शिक्षित गराउनु थियो । यसले फोहोर व्यवस्थापन, फोहोरको स्रोतमै वर्गीकरण, पुनःप्रयोग र रिसाइक्लिङ जस्ता अभ्यासलाई प्रवर्द्धन गरेको महानगरले जनाएको छ ।
