काठमाडौँ — नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको छ । कार्यक्रम विशिष्ट मानार्थ सदस्य तथा संरक्षक राजेशकाजी श्रेष्ठको मुख्य आतिथ्यता तथा संघका अध्यक्ष सञ्जय अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस्तै नेपालका लागि इटालीका मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष मनोज कुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका महासचिव मनोज श्रेष्ठ भाडेलले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, ‘नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्त्वपूर्ण रहँदै आएको छ । हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौं ।’
साधारणा सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डेलाई विशिष्ट सम्मानस्वरूप कदरपत्र प्रदान गएको थियो भने अशंक समसेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’का रुपमा सम्मानित गरिएको थियो ।
संघका अध्यक्ष अग्रवालले नेपाल–इटालीबीचको राजनयिक तथा आर्थिक सम्बन्धको लामो यात्रा को चर्चा गर्दै छ दशकभन्दा बढीको व्यापारिक सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा संघको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
