काठमाडौँ — नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करणमा देशभरका १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । फागुन १६ देखि १८ गतेसम्म काठमाडौंमा हुन लागेको प्रतिस्पर्धामा कुल १ हजार ८४ विद्यार्थीहरूले सहभागिता जनाएका थिए । अर्थशास्त्र तथा वित्तीय साक्षरतासम्बन्धी प्रतिस्पर्धाको क्षेत्रीय चरणमा सातै प्रदेशका १८५ शैक्षिक संस्थाका विद्यार्थी सहभागी भएको आयोजक यङ इकोनोमिस्ट सोसाइटी नेपालले जनाएको छ ।
क्षेत्रीय प्रतिस्पर्धाबाट उत्कृष्ट १०० विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका हुन् । अब उनीहरूले तार्किक क्षमता, वित्तीय विश्लेषण तथा आर्थिक समस्याहरू समाधान गर्ने सीप प्रदर्शन गर्नुपर्नेछ । राष्ट्रिय चरणमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष पाँच विद्यार्थीहरूले आगामी जुलाइमा अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
त्यसैगरी, अन्य पाँच विद्यार्थीहरूले अस्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने यङ इकोनोमिस्ट सोसाइटीले जानकारी दिएको छ ।
प्रतियोगितामा बिजनेस केस एनालिसिस, आर्थिक तार्किकता परीक्षण, वित्तीय साक्षरता सत्र तथा सिमुलेशन गेम जस्ता चुनौतीहरू समेटिनेछन्। नेपालका वरिष्ठ अर्थशास्त्री, वित्तीय विज्ञ तथा शैक्षिक प्रशिक्षकहरूले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नेछन् । यसले विद्यार्थीहरूलाई व्यावहारिक वित्तीय ज्ञान तथा विश्लेषणात्मक सोच विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाका अनुसार यो ओलम्पियाड विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने थलो मात्र नभएर उनीहरूको वित्तीय साक्षरता, विश्लेषणात्मक क्षमता तथा नीति निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण प्लाटफर्म हो ।
