मध्य घुन्सा खोला जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच ग्रिड कनेक्सन सम्झौता

फाल्गुन ६, २०८१

कान्तिपुर संवाददाता

Grid Connection Agreement between Madhya Ghunsa Khola Hydropower Project and Nepal Electricity Authority

काठमाडौँ — ताप्लेजुङमा निर्माण हुने  ३०.२४ मेगावाट क्षमताको मध्य घुन्सा खोला जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबीच  ग्रिड कनेक्सन सम्झौता भएको छ ।

सम्झौतामा पत्रमा सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र प्राधिकरणका निर्देशक कमल आचार्यले हस्ताक्षर गरेका हुन् ।


सम्झौताअनुसार मध्य घुन्सा खोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणको निर्माणाधीन २२०/१३२ केभी हाङ्गपाङ्ग सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए ।


त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गर्नेछ । त्यसमा  १३२/२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत् प्रवाह गर्नेछ ।


आयोजना आगामी २०२६ मा निर्माण सुरु गरी २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले जनाए । आयोजनाको ग्रसहेड १५८ मिटर रहेको आयोजनाको डिजाइन डिस्चार्ज २२.६ छ ।


३ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने आयोजनाको १७५० मिटर टनेल र २५० मिटर पेनस्टक पाइप रहनेछ । आयोजनाको विद्युत् गृह अर्धभूमिगत रहनेछ भने विद्युत्‌ गृहमा १५.१२ मेगावाट क्षमताका २ वटा टर्बाइन रहनेछन् । आयोजनाले वार्षिक रूपमा १७५ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

कान्तिपुर

Link copied successfully