एनसेलले सुरू गऱ्यो भीओवाईफाई, आईफोनबाट सेवाको सुरुआत

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Ncell Launches VoWiFi, Launching Service From iPhone

काठमाडौँ — आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भीओवाईफाई) सेवाको सुरूवात गरेको छ । यो सेवाले ग्राहकहरूलाई वाईफाई इन्टरनेट प्रयोग गरेर स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउने एनसेलले जनाएको छ ।

विशेष गरी 'वाई फाई कलिङ' भनिने भीओवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानमा उपयोगी मानिन्छ । ठूला भवनका बेसमेन्ट र दुर्गम स्थानहरूमा यो सेवा प्रयोग गर्न सकिन्छ । हाललाई एनसेलको यो सेवा आईफोन-८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको जानकारी दिएको छ ।

यो सेवा लिन अतिरिक्त शुल्क लाग्दैन । ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् । भ्वाइस ओभर लङ् टर्म इभोलुसन (भोल्टे) सेवाका लागि फोर जी आवश्यक भए जस्तै, भीओवाईफाईका लागि भरपर्दो वाई फाई कनेक्सन चाहिन्छ । 

यो सेवा सामसङ, साओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने एनसेलले जनाएको छ । कम्पनीले आफ्नो फोर जी नेटवर्क देशको ९४ प्रतिशत जनसङ्ख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको र यसले भोल्टे र भीओवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउने दाबी गरिएको छ ।

'भीओवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गर्नुपर्ने हुन्छ,' विज्ञप्तिमा भनिएको छ, 'त्यस पश्चात् ग्राहकले कुनै पनि भरपर्दो वाईफाईमार्फत यो सेवाको फाइदा लिन सक्छन् ।'   

सेवा एक्टिभेट गर्नुअघि,ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाई फाई कलिङ दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात् 'इनेबल' गरेको हुनुपर्छ । त्यसका लागि सेटिङमा गएर, मोबाइल नेटवर्कभित्र गई सिम कार्ड छान्नु पर्छ र भीओवाईफाई, वाई फाई कलिङ वा सोही अनुसार छानेर सक्रिय गर्नु पर्छ । माघ २२ मा नेपाल टेलिकमले पनि ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु गरेको जानकारी दिएको थियो  ।

कान्तिपुर

Link copied successfully