काठमाडौँ — नेपालमा समावेशी, पारदर्शी र जिम्मेवार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रवर्द्धन गर्न भन्दै ‘एआई एसोसिएसन नेपाल’ गठन गरिएको छ । एआई विज्ञ, उद्यमी तथा अनुसन्धानकर्ताहरूको पहलमा स्थापना भएको एसोसिएसनको अध्यक्षमा मेरो जबका संस्थापक शैलेन्द्र राज गिरि चयन भएका छन् ।
एसोसिएसनले नेपालका विविध चुनौतीहरूको समाधान गर्न एआई अनुसन्धान, नवप्रवर्तन र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ । विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र सार्वजनिक सेवाजस्ता क्षेत्रमा एआईको प्रभावकारी प्रयोगमार्फत् नवीन समाधानहरू खोज्ने एसोसिएसनको उद्देश्य रहेको विज्ञप्तिमा भनिएको छ ।
सरकारले हालै जारी गरेको एआई नीतिका सन्दर्भमा सरोकारवालाहरूसँग परामर्श गर्न काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष गिरिले एआई एसोसिएसन नेपालको लक्ष्य र योजनाबारे जानकारी दिएका थिए । उनले एआई शिक्षा र उद्योगसँग सम्बन्धित परियोजनाहरूलाई सहयोग पुर्याउने, अनुसन्धान तथा विकासलाई प्रवर्द्धन गर्नुका साथै प्रशिक्षण, कार्यशाला, र सीप विकास कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताए।
एसोसिएसनका महासचिव अधिवक्ता सन्तोष सिग्देलले एआई नीतिको मस्यौदाको विश्लेषण गर्दै प्रस्तावित नीतिले नैतिक र समावेशी एआई अभ्यासलाई आधार मान्नुपर्नेमा जोड दिए। उनले नीति समग्र समाजलाई लाभ पुर्याउने गरी तयार गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा एआई एसोसिएसन नेपालले आगामी दिनहरूमा एआईसम्बन्धी नीतिगत बहसहरू, अनुसन्धान अनुदान कार्यक्रम र ओपन-सोर्स एआई स्रोत केन्द्र स्थापना गर्ने जानकारी दिइएको थियो । एसोसिएसनले अनुसन्धानकर्ता, उद्यमी, तथा सरोकारवालाहरूलाई नेपालमा समावेशी, पारदर्शी, र जिम्मेवार एआई प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्न आह्वान गरेको छ।
