‘गभर्नेन्स फेलोसिप २०२५’ सफलतापूर्वक सम्पन्न

माघ २१, २०८१

कान्तिपुर संवाददाता

'Governance Fellowship 2025' successfully completed

काठमाडौँ — प्रोजेक्ट अभय र सिभिल आउटलुकको संयुक्त आयोजनामा आयोजित ‘गभर्नेन्स फेलोसिप २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ।  जनवरी १० देखि २५ सम्म सञ्चालन भएको यस कार्यक्रममा देशभरका २२ जिल्लाबाट आएका ६७ सहभागीहरूले सुशासन, न्यायिक पहुँच, लैङ्गिक समानता, पारदर्शिता, तथा नागरिक सहभागिताजस्ता विषयमा प्रशिक्षण र अन्तरक्रिया गरेका थिए।

फेलोसिपलाई विभिन्न चरणमा विभाजित गरी सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। ‘फाउन्डेसन्स अफ गभर्नेन्स’ मा युथ कांग्रेस नेपालका पूर्वराष्ट्रिय संयोजक सचिन तिमल्सेनाले प्रशिक्षण दिएका थिए भने ‘लेजिस्लेफन एन्ड पोलिसी मेकिङ’ मा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीले आफ्नो अनुभव साझा गरेका थिए।

कार्यक्रममा न्यायिक प्रक्रियासम्बन्धी विषयमा सर्वोच्च अदालतकी अधिकृत श्रेया सञ्जेलले प्रशिक्षण दिएकी थिइन्। समावेशी सुशासन र जिम्मेवारीको विषयमा भने सांसद तथा पूर्वशिक्षामन्त्री शिशिर खनालले सहभागीहरूसँग अन्तर्क्रिया गरेका थिए।

फेलोसिपको अर्को सत्रमा संघीय संसद र ट्रेड युनियन क्षेत्रमा लामो अनुभव भएकी डा. बिन्दा पाण्डेले फेमिनिस्ट पोलिटिक्स तथा ग्रासरुट अभियानबारे प्रशिक्षण दिइन्। त्यसैगरी, नागरिक सहभागिता र सामाजिक उत्तरदायित्वका सन्दर्भमा विवेकशील साझा पार्टीका सदस्य एवम् लेखक मिलन पाण्डेले प्रशिक्षण प्रदान गरेका थिए।

'Governance Fellowship 2025' successfully completedकार्यक्रमको सफलताबारे बोल्दै प्रोजेक्ट अभयकी संस्थापक इशिका पन्तले भनिन्, 'हामी सधैं वास्तविक परिवर्तन युवा सशक्तीकरणबाट सुरु हुन्छ भन्ने विश्वास गर्छौं । यस फेलोसिपले युवाहरूलाई ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्दै उनीहरूलाई उद्देश्यपूर्ण नेतृत्व गर्न प्रेरित गर्ने छ।' 

सिभिल आउटलुककी अध्यक्ष रेजिना बस्नेतले बताइन्, 'हाम्रो संगठन सधैं कानुन, सुशासन र डिजिटल साक्षरताजस्ता विषयमा युवाहरूलाई शिक्षित गर्न चाहन्छ। प्रोजेक्ट अभयसँगको सहकार्यले हाम्रो साझा लक्ष्यलाई अझ बलियो बनाएको छ।' 

तीन साता लामो यस फेलोसिप अवधिभर अन्तर्क्रियात्मक अभ्यास, केस स्टडी र समूहगत छलफलले सहभागीहरूलाई सुशासनको महत्त्व, विधि निर्माण प्रक्रिया, जिम्मेवारी र न्यायिक पहुँचको विषयमा थप ज्ञान प्रदान गरेको आयोजकले जानकारी दिएका छन्।

कान्तिपुर

Link copied successfully