काठमाडौँ — सौर्य ऊर्जा क्षेत्रमा ईन्जिनियरिङ, खरीद र निर्माण (ईपीसी) मोडलमा काम गर्ने भारतीय कम्पनी प्रोजिल ग्रिन इनर्जी र गोल्यान पावर लिमिटेडबीच नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्ने गरी सम्झौता भएको छ । काठमाडौंमा आयोजित प्रोजिल ग्रिन इनर्जी शिखर सम्मेलनमा दुई कम्पनीबीच संयुक्त उपक्रममार्फत काम अघि बढाउने गरी सम्झौता भएको हो ।
संयुक्त उपक्रम सम्झौताअनुसार प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) माेडलमा विकास कम्पनीको रूपमा नेतृत्व गर्नेछ । साथै गोल्या न पावरले व्यापार विकास, जग्गा अधिग्रहण र वित्तीय व्यवस्थापन गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपन प्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने गोल्यान पावरका तर्फबाट प्रोजिल ग्रिन ईनर्जि नेपालका सञ्चालक प्रवीण अर्यालले बताए । 'प्रोजिल ग्रीन इनर्जीसँग सहकार्य गरेर, हामीले नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने दिशामा निर्णायक कदम चालेका छौँ,' उनले भने ।
प्रोजिल ग्रिन इनर्जी नेपालले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तीव्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्याउने प्रयासमा रुफटप सोलार र जमिनमा माउन्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्टहरू विकास गर्ने जनाएको छ ।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताए । उनले नियामक निकायको हैसियतले विद्युत् नियमन आयोगले पनि नयाँ नयाँ नीतिहरूमा काम गरिरहेको र यस क्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैँ तत्पर रहेको बताए । 'सरकार नवीकरणीय ऊर्जाका क्षेत्रमा साथै निजी क्षेत्रलाई सहयोग गर्नका लागि सधैँ तत्पर रहेको छ । तपाईँहरूले लगानी बढाउँदै जानुहुन्छ भन्ने विश्वास छ,' उनले भने ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले गोल्या न समूहले ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए । ‘हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्को वर्षमा १००० मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौँ भन्ने लाग्यो,’ उनले भने । यस्तो भएमा मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने बताए ।
अहिले ८ सय मेगावाटको टेन्डर भइसके पनि त्यो कहाँ छ भन्ने थाहा नभएको जस्तो अवस्था रहेको गुनासो गरे । मुद्दामामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै उनले सरकारलाई र मन्त्रीलाई पनि आफूहरूले यस्ता समस्या हटाएर स्पष्ट भिजनसहित अगाडि बढ्न सुझाइ रहेको बताए ।
सौर्य ऊर्जा उत्पादकहरूको संस्था (सोपान) का अध्यक्ष सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेखनीय हुने बताए । उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जा उत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए । ट्रान्समिसन लाइनको समेत सहज पहुँच गराएर मुस्ताङ लगायतका ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने उनको भनाई छ ।
प्रोजिल ग्रिन इनर्जी नेपालले आगामी २४ महिनामा नेपालका विभिन्न स्थानहरूमा ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू स्थापना गर्ने लक्ष्य राखेको जनाएको छ । 'जुन देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी युगको एक महत्त्वपूर्ण कदम हुने,' प्रोजिल ग्रिन इनर्जी नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रोजिल ग्रिन इनर्जीका अध्यक्ष शोबित बैजनाथ रायले गोल्याण पावरसँग मिलेर ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरी नेपालको नवीकरणीय ऊर्जा यात्रामा ऐतिहासिक कोसेढुंगा हासिल गर्न अघि बढिरहेको बताए । 'प्रोजिल ग्रिन इनर्जी नेपाल दिगो र नवीन ऊर्जाद्वारा नेपाललाई सशक्त बनाउने साझा प्रतिबद्धता राख्छ, हाम्रो उद्देश्य नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रुपान्तरणको नेतृत्व गर्नु र देशको डिकार्बोनाइजेशन प्रयासहरूलाई अझ बलियो बनाउनु हो,' विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा गोल्या न ग्रुपका निर्देशक अक्षय गोल्यानले सूर्यको भविष्य रहेसम्म सौर्य ऊर्जाको भविष्य उज्जवल रहेको भन्दै अब यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।
