अध्यादेशमार्फत ल्याइएका सूचना प्रविधिसम्बन्धी कानुनले यो क्षेत्रलाई सशक्त र विश्वव्यापी बनाउने नासआईटीको प्रतिक्रिया

माघ ९, २०८१

कान्तिपुर संवाददाता

NASIT's response to the information technology legislation introduced through the Ordinance will strengthen and globalize this sector

काठमाडौँ — सरकारले सूचना प्रविधि उद्योगसँग सम्बन्धित अध्यादेशमार्फत ल्याएका कानुनको स्वागत गर्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज (नासआईटी) ले सूचना प्रविधि उद्योगलाई यसले अझै सशक्त तथा विश्वव्यापी बनाउने जनाएको छ । 

नासआईटीले अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरुद्वारा थप सहजीकरण हुने विश्वास पनि व्यक्त गरेको छ ।

नासआईटीले सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानुनमा आवश्यक सुधार र सहजीकरण गर्दै सरकारले विभिन्न सुविधा र सम्भावनाहरूको सुरुआत गरेको विज्ञप्तिमा उल्लेख छ । यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई सकारात्मक सन्देश जाने र यसले समग्र सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्‍याउने भनिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आइटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य प्राप्त गर्नका लागि पनि अध्यादेशले सकारात्मक भूमिका खेल्ने नासआईटीको विश्वास छ ।

'नेपालको सूचना प्रविधि उद्योगले सुरुआती अवस्थाबाट क्रमिक प्रगतितर्फ यात्रा गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'यसै क्रममा विदेशी लगानीकर्ता र देशभित्र रोजगारी सिर्जना गर्ने रोजगारदाताहरूको संलग्नता उल्लेखनीय रूपमा बढिरहेको छ ।' नासआईटीले आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न र लगानी अभिवृद्धिका लागि सरकारले सार्वजनिक गरेका कानुन संशोधनको सबै क्षेत्रबाट उचित परिपालना हुने अपेक्षा गरेको छ ।

कान्तिपुर

Link copied successfully