होटल बराहीले पायो इको फुटप्रिन्ट प्रमाणपत्र

माघ ६, २०८१

कान्तिपुर संवाददाता

Hotel Barahi has received Eco Footprint Certificate

काठमाडौँ — बाराही हस्पिटालिटीअन्तर्गत २०२३ जुलाइदेखि ठमेलमा सञ्चालनमा आएको होटल बाराही काठमाडौंले अन्तर्राष्ट्रिय स्तरको ‘इको फुटप्रिन्ट’को प्रमाणपत्र पाएको छ । यो ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास)को अडिटमा बाराहीले उत्कृष्टता हासिल गरेकोले प्रदान गरिएको हो ।

बाराही होटलले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी गराएको हो । टफ्ट टाइगरले बाराहीलाई सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मका लागि ‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा प्रमाणपत्र प्रदान गरेको विज्ञप्तीमा लेखिएको छ । यो प्रमाणपत्रकालागि चार वटा मापदण्ड थिए । टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत बातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानूनको पालना र तालिमलगायतमा होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।

त्यस्तै फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानुनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रबर्द्धन, अपांगता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो । होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौंले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै नेपाल सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन बिभागमार्फत पहल हुनुपर्ने बताए । नेपाल ट्राभल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले बाराहीले अपनाएको व्यवसायीक अभ्यास आममानिसको सामान्य जीवनयापनमा समेत लागू हुनुपर्ने बताइन । बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा होटल बाराही पोखरा, साराङकोट माउन्टेन लज, आबास पोखरा, चितवनमा ‘बाराही जंगल लज’ पनि संचालनमा छन् । चितवनको बाराही जंगल लज यसअघि नै इको सर्टिफाइड भइसकेको विज्ञप्तीमा जनाइएको छ ।

कान्तिपुर

Link copied successfully