काठमाडौँ — निर्माण उद्योगका समस्याप्रति सरकार उदासीन रहेको भन्दै १४ बुँदे माग अघि सारेर व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण सामग्रीको जथाभावी मूल्यवृद्धि र कार्टेलिङले गर्दा काम गर्न समस्या भएको दाबी गरे ।
निर्माण कार्य हुने सिजनमै सिमेन्ट उद्यमीहरूबाट बिनाकारण खुलेआम कार्टेलिङ एवं कालोबजारी गरी सिमेन्ट, डन्डीलगायत निर्माण सामग्रीमा गरिरहेको चर्को मूल्यवृद्धि र भुक्तानी अभावले व्यवसायी समस्यामा परेको व्यवसायीले बताए ।
‘सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विभिन्न कारणले रुग्ण रहेको आयोजनाहरूको खारेजी, विगतका सहमतिको अक्षरशः कार्यान्वयन, पूर्वाधारमैत्री ऐन–कानुन, लो बिडको निरुत्साहन,’ महासंघले १४ बुँदे माग गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्माण सामग्रीको सहज उपलब्धता, महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियमनकारी निकायको ज्यादती र इन्स्योरेन्सको समस्या समाधानका लागि निर्माण आयोग गठनको माग गर्दछौं ।’
गत पुस २७ मा राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले दिएको म्यान्डेटअनुसार आन्दोलन गर्न लागिएको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए ।
