काठमाडौँ — सरकारले नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय सकारात्मक रहेको व्यवसायीहरूले जनाएका छन् ।
यसले सूचना प्रविधि क्षेत्र उत्साहित बनेको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारको उक्त कदमलाई ऐतिहासिक निर्णयका रूपमा स्वागत गर्दै सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको क्यानको प्रतिक्रिया छ । पुस २६ मा मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने विश्वास क्यान महासंघको छ ।
