बुद्धले वृद्धाश्रम र गंगासागरलाई दियो क्षतिपूर्तिको रकम

पुस १९, २०८१

कान्तिपुर संवाददाता

The Buddha gave the compensation amount to Vriddhasram and Gangasagar

काठमाडौँ — बुद्ध एयरले उड्ने तरखरमा रहेको जहाजको इमर्जेन्सी (आपत्कालीन) ढोका खोल्ने दुई यात्रुले तिरेको क्षतिपूर्ति रकम पोखराको एउटा वृद्धाश्रम र जनकपुरको महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरेको छ ।

 बुधबार पोखराबाट काठमाडौं उड्ने तरखरमा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले बिनाकारण आपतकालीन ढोका खोलेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जनाए । आपत्कालीन ढोका खोलिएका कारण दिउँसो ३ बजेको उक्त उडान ३ घण्टा ढिलो काठमाडौंका लागि उडेको थियो ।

आपत्कालीन ढोका खोल्ने ती यात्रुलाई बुद्ध एयरले पोखरा क्षेत्रीय विमानस्थलको रोहवरमा प्रहरीलाई बुझाएको थियो । ‘गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ मा हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई कसुरको प्रकृतिअनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजायको व्यवस्था छ ।

यात्रुले क्षतिपूर्तिबापत तिरेको रकम बुद्धका पोखरा स्टेसन प्रमुख गौतम बरालले पोखराको सीतापाइलास्थित पोखरा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगका लागि बिहीबार हस्तान्तरण गरे । गत असोज १५ मा काठमाडौंबाट जनकपुरका लागि उडे पनि खराब मौसमका कारण विराटनगर पुगेको जहाजको पार्किङवेमा एक यात्रुले आपत्कालीन ढोका खोलेका थिए ।

उक्त घटनामा पनि ती यात्रुले क्षतिपूर्तिबापत १ लाख रुपैयाँ तिरेका थिए । बुद्धका जनकपुर स्टेसन प्रमुख विजयप्रसाद सिंहले उक्त रकम बिहीबार जनकपुरस्थित महागंगा आरती गंगासागरलाई हस्तान्तरण गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully