क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध

क्यानमा पहिलो महिला अध्यक्ष

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Sunaina Pandey is unopposed as the President of CAN Federation

काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को पहिलो महिला अध्यक्षका रूपमा सुनैना घिमिरे पाण्डे निर्विरोध निर्वाचित भएकी छन् । महासंघको ३१ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशनका बेला हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएकी हुन् ।

महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पाण्डे सर्वसम्मतले चयन भएको पुष्टि गरे । ‘देशको सूचना प्रविधि क्षेत्र र अर्थतन्त्रलाई अझै उकास्नुपर्ने अवस्था छ, यस्तोमा उहाँजस्तो सक्षम महिला क्यानको नेतृत्वमा आउनुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ अधिकारीले भने, ‘चुनाव गर्दा व्यक्तिको हारजित हुने भएकाले सामूहिक सहमतिमा उहाँलाई अध्यक्ष स्वीकार गरिएको हो । यसमा व्यक्तिको होइन, क्यानको जित होस् भन्ने हाम्रो सामूहिक बुझाइ छ ।’

निर्वाचन प्रक्रियाअन्तर्गत पुस १३ गते औपचारिक घोषणा हुनेछ । सदस्य र अन्य पदका लागि शनिबार निर्वाचन हुँदै छ । क्यानको नेतृत्व हाल रञ्जित कुमार पोदारले गरिरहेका छन् ।   

पाण्डेले पनि यसअघि क्यान महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् । २०७६ सालमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकोमा उनी नवराज कुँवरसँग पराजित भएकी थिइन् । उनी सफ्टवेयर डेभेलप्मेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन् । 

कान्तिपुर

Link copied successfully