काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरूलाई सुझाव दिएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरणमार्फत आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो । नेपालको दिगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक कूटनीति महत्त्वपूर्ण भएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन अध्यक्ष अग्रवालले राजदूतसमक्ष आग्रह गरे । सम्बन्धित देशसँग बीटूबी मिटिङ तथा लगानी र व्यापार सहजीकरणका लागि द्विपक्षीय सम्झौताका लागि पहल गरिदिन उनले अनुरोधसमेत गरे । कार्यक्रममा विभिन्न देशका राजदूतहरूले आफूले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि राजदूत सनिल नेपालको उपस्थिति थियो ।
