काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले स्थापनाको २५ औ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको हो ।
इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ मनाउन विभिन्न समितिहरु बनाएर कार्यक्रम तयारी अघि बढाइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरुको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धि र प्रगतिहरुलाई प्रस्तुत गर्न विशेष कार्यक्रमसहित इप्पानको रजत जयन्ती मनाउन गइहेको कार्कीको भनाइ थियो ।
२०५७ माघ ४ गते स्थापना भएको इप्पानले नेपालको ऊर्जा विकासका लागि महत्वपूर्ण २५ वर्ष समर्पित गर्दा देशलाई लोडसेडिङ मुक्त मात्र नगरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा पनि इप्पानको महत्वपूर्ण योगदान रहेको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए ।
आगामी माघ ४ गते काठमाडौंको होटल मेरियटमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने रजत जयन्ती समारोहमा अर्थमन्त्री, ऊर्जामन्त्री, पूर्व ऊर्जामन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने डाँगीले जानकारी दिए ।
तीनवटा प्राविधिक सत्र, विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने
विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा आयोजना गर्न लागिएको रजत जयन्तीमा तीनवटा प्राविधिक सत्रहरु रहने इप्पानले जनाएको छ । नेपाल सरकारसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा ऊर्जा क्षेत्रका अवसर र चुनौती, पूर्वऊर्जामन्त्री, पूर्वअर्थमन्त्री, पूर्वमन्त्री, विषय विज्ञसहित नीति निर्माताहरुको सहभागितामा ऊर्जाका माध्यमबाट आर्थिक र सामाजिक परिवर्तन विषयमा र सरकार, निजी क्षेत्र र विज्ञहरुको सहभागितामा ऊर्जा क्षेत्रको आगामी यात्रा विषयमा प्यानल डिस्कसन हुनेछन् ।
उक्त सेसनहरुमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रका आगामी मार्गचित्र, ऊर्जा नीतिहरु, तथा ऊर्जा आयोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानबारे मन्थन हुने इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।
त्यस्तै रजत जयन्तीको पूर्वसन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गर्ने क्रममा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने इप्पानले जनाएको छ ।
फूटसल तथा ब्याडमिन्टन प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः ३० हजार,२० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसको लागि टिम दर्ता खुला भइसकेको र प्रतियोगिता यही पुस २६ र २७ गते हुने जानकारी खतिवडाले बताए ।
यसैगरी निबन्ध लेखन प्रतियोगिताका लागि निबन्धहरु माग भइसकेको र पुस १५ गतेसम्म प्राप्त निबन्धहरुमध्ये उत्कृष्ट १० वटा निबन्धहरुलाई पुस २० गते प्रस्तुतीकरण गर्न लगाइने र प्रस्तुतिकरणमा पहिलो, दोस्रो र तेस्रो हुने निबन्धले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।
त्यस्तै छोटो वृत्तचित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति/कम्पनीलाई क्रमशः ३० हजार,२० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसको लागि पनि प्रस्ताव आह्वान भइसकेको र पुस १५ गतेसम्म फोटो भिडियो पठाइसक्नुपर्ने इप्पानले जनाएको छ । फोटो भिडियो प्रतियोगिताको सहआयोजकको रुपमा पीजे क्लब रहेको छ । सबै प्रतियोगिताको विजेता/उपविजेता विषय विज्ञसहितको निणर्णायक समितिमार्फत चयन गरिने इप्पानले जनाएको छ ।
पूर्वसन्ध्यामा हुने अन्य कार्यक्रमहरुमा माघ २ गते रक्तदान र माघ ३ गते ईभी र्याली आयोजना हुने पनि जनाइएको छ ।
देशको कुल विद्युत जडित क्षमता करिब ३३०० मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २६०० मेगावाट अर्थात् कुल जडित क्षमताको करिब८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै करिब ४१०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४३०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत् खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।
त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पुर्याइरहेको छ ।
गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पुर्याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।
