काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ फेडेरेसन इन्टरनेसनल दी मोटरसाइकल (एफआईएम) को प्रतिष्ठित अवार्ड पाएको छ ।
स्पेनको तटीय पर्यटकीय सहर पाल्मा मार्लोकामा सम्पन्न महासंघको १ सय २० औं स्थापना दिवस र वार्षिक साधारणसभामा ‘वुमन इन मोटरिङ’ विषयमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
विश्वको एकमात्र मोटरसाइकल फेडेरेसनको उक्त अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजारभन्दा बढीको सहभागिता थियो । एफआईएम वुमन इन मोटोसाइक्लिङकी प्रमुख लात्भियाकी यनिका यूले नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईलाई अवार्ड हस्तान्तरण गरिन् ।
महिला नेतृत्वको वैधानिक व्यवस्था गरेको, मोटरसाइकलमार्फत महिला सशक्तीकरणको अभियान चलाएको, रेसिङ, र्याली र रोड सेफ्टीमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गरेको, नासाका विभिन्न कमिसनमा महिला नेतृत्व रहेको तथा महिला कमिसन र छुट्टै नियमित सहयोग कार्यक्रम गरेको आधारमा अवार्ड प्रदान गरिएको कार्यकारी निर्देशक भट्टराईले जनाए ।
सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय इभेन्टका विजयीलाई एफआईएमले साधारणसभामा अवार्ड वितरण गर्ने गर्दछ । त्यसमा वुमन इन मोटरिङ, एफआईएम वुमन अवार्डसहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर इन मोटरसाइक्लिङ, वातावरण र दीगोपन जस्ता चार अवार्डसमेत वितरण गरिएको थियो ।
