काठमाडौँ — इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनीमा लगानी गर्ने सम्झौता गरेको जनाएको छ । यस सम्झौताले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पूरा गर्ने जनाइएको छ ।
एनआईएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न राखेको सम्भावनालाई महत्त्वका साथ लिँदै आएको जनाएको छ ।
यसबारे एनआईएमबी एसका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने प्रतिबद्धतालाई अगाडि बढाइएको बताए । साथै इलेक्ट्रो पावरका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीले उक्त साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिने बताए ।
