काठमाडौँ — नेपाल सरकारसँगको सहकार्यमा हेफर इन्टरनेसनलले सञ्चालन गरेको ‘मिल्की वे’ परियोजनाले सिन्धुलीको कमलामाई नगरपालिकामा दुग्ध उत्पादन बढाएको बताइएको छ । परियोजनाका लागि एक वर्षअघि दक्षिण कोरिया सरकारले एक सय वटा होलिस्टिन प्रजातिका गाई र आठवटा साँढे उपहार दिएको थियो ।
यसले गुणस्तरीय दूध दिने गाईको प्रजनन क्षमता बढाएको स्थानीयले बताए । त्यति बेला ५१ स्थानीय किसान परिवारलाई होलिस्टिन जातका गाई उपलब्ध गराइएको थियो ।
कोरियाली गाई ल्याएपछि नगरपालिकाको मासिक दूध उत्पादन गत वर्षको तुलनामा दोब्बरले बढेको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले जनाए । ‘एक वर्षअघि दैनिक २७ हजार लिटर दूध उत्पादन हुने गरेको थियो,’ उनले भने, ‘अहिले त्यो ५५ हजार लिटर पुगेको छ ।’
यो कार्यक्रम सिन्धुलीको कमलामाई नगरपालिकामा आयोजना गरिएको थियो, जहाँ ‘मिल्की वे’ परियोजनाका साझेदारले एउटा ‘मोडेल डेरी भिलेज’ स्थापना गरेका छन् । ‘मिल्की वे’ कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण रहेको वाग्मतीका कृषि तथा पशुपन्छी विकासमन्त्री श्रेष्ठले बताए ।
हेफर इन्टरनेसनलको ८०औं वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको प्रभावलाई आफूले सम्झिरहेको हेफर इन्टरनेसनलकी प्रमुख कार्यकारी अधिकृत सुरिता सन्दोसमले जनाइन् । ‘कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि हो,’ उनले भनिन् ।
