लगातार दोस्रो खेप भित्रिएसँगै धानबालीको सिजनमा मल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
What you should know
पर्सा — कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल बोकेको दोस्रो रेल्वे र्याक पनि वीरगञ्ज नाकाबाट नेपाल भित्रिएको छ। २ हजार ५ सय मेट्रिक टन डीएपी मल बोकेको रेल्वे र्याक शनिबार सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो।
यसअघि बुधबार १ हजार २ सय ५० मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेल्वे र्याक वीरगञ्ज आइपुगेको थियो। लगातार दोस्रो खेप भित्रिएसँगै धानबालीको सिजनमा मल आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
कृषि सामग्री कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार शनिबार आएको मल कन्साइनमेन्ट नम्बर १५४ अन्तर्गतको खेप हो, जुन भैरहवा प्रादेशिक कार्यालयका लागि छुट्याइएको हो। भैरहवामा पनि वीरगञ्जबाटै ढुवानी गरेर मल पठाइने उनले बताए।
भारतीय कम्पनी आईपीएलले कन्साइनमेन्ट नम्बर १५४ अन्तर्गत कुल ३० हजार मेट्रिक टन डीएपी मल आपूर्ति गर्ने ठेक्का पाएको छ। कम्पनीले रुसबाट खरिद गरेको मल कोलकाता बन्दरगाह हुँदै नेपाल पठाइरहेको छ।
यस कन्साइनमेन्टअन्तर्गत ११ हजार ५ सय टन मल वीरगञ्ज, १० हजार टन भैरहवा र ८ हजार ५ सय टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ। विराटनगरका लागि छुट्याइएको मल भने कोलकाताबाट सिधैं ट्रकमार्फत ढुवानी भइरहेको पाण्डेले जानकारी दिए।
यसैबीच, कम्पनीले आयात गरेको ६० हजार मेट्रिक टन युरिया मल पनि दुई–तीन दिनभित्र वीरगञ्ज नाकाबाट भित्रिन सुरु हुने भएको छ। कन्साइनमेन्ट नम्बर १५० र १५५ अन्तर्गतको युरिया मल सिंगापुरस्थित आदित्य बिर्ला कम्पनीमार्फत आयात गरिएको हो। पहिलो ३० हजार टन युरिया कतारबाट र दोस्रो ३० हजार टन ओमानबाट ल्याइएको कम्पनीले जनाएको छ।
हाल कोलकाता बन्दरगाहमा युरिया मल बोरामा प्याकिङ गर्ने काम भइरहेको छ। भैरहवा र विराटनगरका लागि छुट्याइएको मल सम्बन्धित नाकाबाट नेपाल प्रवेश गर्न थालिसकेको छ भने वीरगञ्जका लागि छुट्याइएको मल रेलमार्फत ल्याइँदै छ।
कुल ६० हजार मेट्रिक टन युरिया मलमध्ये २३ हजार टन वीरगञ्ज, २० हजार टन भैरहवा र १७ हजार टन विराटनगर प्रादेशिक कार्यालयले प्राप्त गर्नेछन्। कम्पनीका अनुसार मल समयमै प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको छ।
