वीरगञ्जमा सडक सीमाभित्रका संरचना हटाउन ७ डोजर परिचालन

वीरगञ्जको मुख्य सडक क्षेत्रको सडक सीमाभित्र परेका आधा दर्जन सरकारी भवनका संरचनालाई भने आर्थिक वर्षको अन्त्यमा सेवाग्राहीलाई मार पर्ने भएकाले चलाइएको छैन।

असार २३, २०८३

शंकर आचार्य

7 bulldozers mobilized to remove structures within road boundaries in Birgunj

पर्सा — वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले मंगलबार ७ वटा डोजर प्रयोग गरेको छ ।

कार्यालयका इन्जिनियर एवम् वीरगन्जका लागि फोकल पर्सन दुर्गा प्रसादले मंगलबार ७ मध्ये १ डोजर उच्च अदालत क्षेत्रमा र बाँकी ६ वटा मुर्ली क्षेत्रमा प्रयोग भइरहेको बताए ।

मंगलबार दिउँसो साढे ३ बजेसम्म गण्डकदेखि मुर्ली क्षेत्रसम्मका करिब ७० निजी भवन तथा संरचना हटाइएको उनले बताए । यस बीचमा रहेका आधा दर्जन सरकारी भवनका संरचनालाई हाल नचलाइएको उनले बताए । सरकारी कार्यालयहरुमा सेवाग्राहीको काम प्रभावित हुन नदिन सालतमामीपछि भत्काइने उनले बताए ।

त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुक्रबारदेखि डोजर अभियान थालेको थियो। कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि बहुअरी क्षेत्रका स्थानीयले अवरोध गरेपछि शुक्रबार साँझ अभियान रोकिएको थियो। तर सोमबार बिहान साढे ६ बजे देखि पुनः कार्यालयले आफ्नो डोजर चलाएर अतिक्रमण हटाउन सुरु गरेको हो ।

प्रभावित स्थानीयले उचित समन्वय, व्यवस्थापन तथा वैकल्पिक उपाय अपनाएर मात्र सडक विस्तारको काम अघि बढाउनुपर्ने माग गर्दै आएका छन्।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully