स्थानीयको अवरोधका कारण शुक्रबारदेखि रोकिएको वीरगञ्जको मुख्य सडक क्षेत्रमा संरचना हटाउने अभियान आइतबार पनि अगाडि बढ्न सकेको छैन।
What you should know
पर्सा — स्थानीयको अवरोधपछि रोकिएको शुक्रबार साँझदेखि रोकिएको वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान आइतबार पनि सुचारु हुन सकेन ।
विवाद समाधानका लागि शनिबार गर्ने भनिएको सरोकारवाला निकायको बैठक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल बाहिर रहेकाले हुन सकेको छैन ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बैठकका लागि कार्यालयका डिई किरण कार्की समेत शनिबार आएकोमा प्रजिअ दाहालको अनुपस्थितिका कारण सम्पन्न हुन नसकेको बताए ।
अब सोमबार कार्यालय खुलेको दिन बैठक गर्ने तयारी गरिएको उनले बताए । विवाद समाधान नगरी काम गर्दा पटक पटक समस्या आउने र डोजर अपरेटहरु पनि असुरक्षित महशुस गर्ने भएकाले थप एक दिन बैठकका लागि प्रतिक्षा गरिएको उनले बताए ।
इन्जिनियर प्रसादले डोजर, तिनका चालक र आफू पनि वीरगन्जमा तयारी अवस्थामा बसेको बताए । डोजर अब कुनै पनि हालतमा नफर्कने पनि उनले दाबी गरे । कुनै पनि बेला काममा जानुपर्ने भएकाले आफूहरु तयारी अवस्थामा बसेको उनले बताए ।
सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार दिउँसो करिब १ बजेदेखि त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सुरु गरेको थियो। कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि सोही दिनको साँझ करिब ५ बजे बहुअरी क्षेत्रका स्थानीयले डोजर सञ्चालनमा अवरोध गरेपछि अभियान रोकिएको हो।
स्थानीयले वीरगञ्ज महानगरपालिकासँग आवश्यक समन्वय नगरी सडक विस्तारको काम अघि बढाइएको भन्दै यस विषयमा सरोकारवाला निकायबीच छलफल जारी रहेकाले तत्काल डोजर चलाउन नदिने अडान लिएका थिए।
सडक डिभिजन कार्यालय हेटौंडाले असार ५ मा वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै त्रिभुवन राजमार्गअन्तर्गत सिरसिया–मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो। महानगरबाट अपेक्षित समन्वय हुन नसक्दा त्यसबेला अभियान अघि बढ्न सकेको थिएन।
यसअघि पनि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका संरचना स्वयं हटाउन अन्तिम समयसीमा दिएको थियो। गत वैशाख ६ र ७ मा पहिलो चरणमा सडक विभागले मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो। त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो भने सडक सीमाभित्र परेका बाँकी संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो। तर तोकिएको समयसीमा बितिसक्दा पनि धेरै संरचना यथावत् रहेपछि विभागले दोस्रो चरणको हटाउने अभियान सुरु गरेको हो।
