अनितादेवी राय हत्या प्रकरण : अनुसन्धानका लागि छिमेकी पक्राउ

हातखुट्टा बाँधेर नदीमा फालिएकी महिलाको हत्या प्रकरणमा छिमेकी पक्राउ

जेष्ठ १३, २०८३

विद्यानन्द राम

Anita Devi Roy murder case: Neighbor arrested for investigation

राजविराज —  

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५, बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको हत्या प्रकरणमा छिमेकी नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय बब्लु राय रहेका छन् । पक्राउ गरिएका बब्लुमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

उनका अनुसार मृतक अनितादेवीका श्रीमान् वीरेन्द्र रायले बब्लुविरुद्ध जाहेरी दिएका थिए । घटनापछि फरार रहेका बब्लुलाई गत सोमबार पक्राउ गरिएको हो । ‘गलिसकेको अवस्थामा महिलाको शव बरामद गरेका थियौं,’ डीएसपी पुरीले भने, ‘घटनाबारे थप सुक्ष्म रूपमा अनुसन्धान भइरहेको छ ।’

वैशाख २३ गते राति घरमा एकलै सुतिरहेकी अनितादेवीलाई बेपत्ता पारिएको थियो । बिहान घरमा नदेखिएकी अनितादेवीलाई सोधखोज गर्दा आँगनमा रगतका छिटा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गरेका थिए । स्थानीय र प्रहरी मिलेर खोजी थालिएको अनितादेवीको शव एक सातापछि हातखुट्टा बाँधिएको तथा खुट्टा र टाउकोतिर १०/१२ किलोको ढुंगा बेरिएको अवस्थामा कोशी नदीको पश्चिमी किनारमा भेटिएको थियो ।

आमा बेपत्ता भएको राति बिहेमा जन्ती गएकी उनकी १२ वर्षीया छोरी काजलकुमारी घटनापछि आमाको तस्बिर नियाल्दै न्याय पर्खिरहेकी छिन् भने श्रीमतीको हत्यापछि वैदेशिक रोजगारी कतारबाट घर फर्किएका वीरेन्द्रले पनि हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully